३ जेष्ठ २०८१, बिहीबार

दोस्रो कार्यकालको शुभारम्भ स्थायी राजधानी दाङबाट गर्ने लुम्बिनी सरकारको तयारी

newskarkahna news422190

लुम्बिनी प्रदेश सरकारले दोस्रो कार्यकालको शुभारम्भ स्थायी राजधानी दाङको राप्ती उपत्यकाबाट गर्ने तयारी गरेको छ । प्रदेश सरकारका सबैजसो मन्त्रालयले एकै परिसरबाट सेवा प्रवाह गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । यसले सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ भने नागरिकमा पनि उत्साह थपिएको छ ।

लुम्बिनी प्रदेश सरकारले २०७७ असोज २० मा दाङको देउखुरी उपत्यकालाई स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी तोकेको थियो । नयाँ संरचना नबन्दासम्म अस्थायी सदरमुकाम बुटबलबाटै काम भएको थियो । अब प्रदेशसभाका नयाँ सदस्यको सपथ र सरकारका सबै काम देउखुरीबाटै गर्ने गरी तयारी अघि बढाइएको हो । यो विषयलाई प्रदेश सरकार सरेको नभएर राजधानीको निर्णय कार्यान्वयनका रुपमा बुझ्न सरकारको आग्रह छ ।

‘निर्णय भइसकेको हो । प्रदेशसभाले निर्देशन दिइसकेको हो । दुई तिहाइ बहुमतले पारित गरेको विषयलाई कार्यान्वयन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन ।’ लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले भने ।

यतिखेर प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएको छ । आन्तरिक मामिला तथा सञ्चार, आर्थिक मामिला तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय एकै परिसरभित्र स्थापना गर्न मर्मतको काम चलिरहेको छ । बाँकी केही मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गरिएको छ । राजधानी कार्यान्वयन प्रक्रिया तीब्र हुादा राप्ती गाउापालिका ३ मसुरिया दाङमा बााकी छिट्फुट काम पनि धमाधम भइरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्मा भन्छन्, ‘संसद भवन यहाँ निर्माण भइनै सकेको छ । अब अन्तिम फिनिसिङको काम पनि थोरैमात्र बाँकी छ । अब आउने संसद स्वत: यही चल्ने कुरा भइहाल्छ । ’

राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिगाह जग्गामा साना-ठूला गरेर ४० वटा भवन छन् । तिनलाई मर्मत गरेर प्रदेशको प्रशासनिक केन्द्र बनाउने काम लगभग सकिएको छ । शिक्षालयलाई गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

स्थायी राजधानीमा चहलपहल बढ्न थालेपछि स्थानीय पनि उत्साहित छन् ।

निर्वाचन आयोगले आफ्नो कामलाई अन्तिम चरणमा पुर्‍याएको र निर्वाचन आचारसंहिताको समयावधि पनि सकिएपछि अब केही दिनमै मुख्यमन्त्रीले स्थायी राजधानीबाट काम थाल्नेछन् भने अन्य प्रशासनिक कार्य पनि औपचारिक रुपमा देउखुरी राप्ती उपत्यकाबाट सुरु हुने छ ।

    सम्बन्धित समाचार...