१५ चैत्र २०८०, बिहीबार

छोरी बचाउन खोज्दा आमाछोरीकै जलेर मृत्यु

Fire Dharan

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै आगलागी हुँदा आमा र छोरीको मृत्यु भएको छ।

बिहीबार बिहान सवा ८ बजे धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो । धनमाया र सीता आमा छोरी हुन । सीता सुस्तश्रवण थिइन् ।

विद्युत लाइन सर्ट भएर स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो। आगलागी भएपछि खाना पकाउने ग्यास पनि पड्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

छोरी कोठाभित्रै रहेको थाहा पाएपछि उनी आफै निकाल्न पसिन् । स्थानीयको भनाई उदृत गर्दै डीएसपी न्यौपानेले भने ‘एक्कासी आगो बढेका कारण बाहिर दुवैजना निस्कन सक्नु भएन् ।’

प्रहरीका अनुसार, आगलागीमा खाना पकाउने ग्यास पनि पड्किँदा धनमाया श्रेष्ठ र उनकी छोरी सीताको जलेर मृत्यु भएको छ।

आगलागी भएपछि शारीरिक रुपमा अशक्त छोरीलाई बचाउँन धनमाया घरभित्र पसेकी थिइन्। उनी घरभित्र पस्नासाथ ग्यास सिलिन्डर विस्फोट भएको स्थानीय वासिन्दाले बताए।

अशक्त छोरी घरभित्रै रहेकाले धनमाया चिच्याउन थालेकी थिइन्। स्थानीय वासिन्दाले रोक्न खोजेपनि उनी चिच्याएर छोरी बचाउँन घरभित्र पसेकी थिइन्। उनी छोरी नजिक पुग्न नपाउँदै ग्यास सिलिन्डर विस्फोट भएको स्थानीय वासिन्दाले बताए।

दुवै जनाको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय वासिन्दा र उपमहानगरको दकमलले आगो नियन्त्रणमा लिएका छन्। दुई घन्टा लगाएर आगो नियन्त्रणमा आएको जनाएको छ। आगलागीमा घरका सरसामान जलेका छन्।