३ जेष्ठ २०८१, बिहीबार

संसदीय दलको नेतामा उम्मेदवारी दिने देउवाको घोषणा, शेखर कोइराला समूहमा अलमल

deuba sekhar
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसमा दलको नेतामा युवालाई अघि सार्नुपर्ने बहस भैरहेको बेलामा सभापति देउवाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीभित्र पूर्व महामन्त्री डा. शशांक कोइरालाको साथ पाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ पाउने उनको विश्वास छ ।

त्यस्तै, प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि साथ दिने देउवाले विश्वास लिएका छन् । आजमात्रै देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले डा. मिनेन्द्र रिजालसँग भेटवार्ता गरेका छन् । पछिललो समय रिजालले पनि देउवालाई नै दलको नेता बनाउनुपर्ने मत राखेका छन् ।

शेखर कोइराला समूहले दलको नेतामा कसलाई अघि सार्छ भन्ने अहिलेसम्म तय भएको छैन् । तर, उक्त समूहबाट महामन्त्री गगनकुमार थापाले दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले सो समूहको छलफल चलिरहेको छ ।

शेखरले भने गगनलाई पनि खुलेर समर्थन गरेका छैनन् । बरु, प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले भने थापालाई दलको नेता बनाउनुपर्ने आवाज उठाएका छन् । उनले गगनलाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गर्ने पनि बताईसकेका छन् ।