३ जेष्ठ २०८१, बिहीबार

देउवा र ओलीलाई नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन सकस

KP Sharma Oli Sher Bahadur Deuba
फाइल फोटो

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्ताे र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६(२)अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् । 

सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नाे इच्छा जाहेर गरिसकेका छन् ।

एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ । 

८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् । संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलकाे सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।

कांग्रेसमा संसदीय दलकाे नेता जाे बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हाे । अहिलेकाे अवस्थामा देउवा पुरानै संसदीय दलकाे नेता हुन् । दलकाे नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले काे बन्छ भन्ने ग्यारेन्टी छैन ।

माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलकाे सरकार गठनका लागि विकल्प अघि सारेकाे छ । त्यसैले अहिलेकै गठबन्धनकाे सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबाेलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ ।

आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् । तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । जुन जुटाउन ओलीलाई निकै कठिन छ । माओवादी, एकीकृत समाजवादी, राप्रपा र जसपालाई साथ लिए मात्र ‌ओली प्रधानमन्त्री बन्न सक्छन् । तर जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगकाे गठबन्धन ताेडेकाे बताइसकेका छन् ।