२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद चयनमा चलखेलको आरोप, पार्टी कार्यालयमा खबरदारी

swotantra

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि बाहिरिन थालेको छ ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने भएको छ ।

सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताउनुभयाे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’ आज बिहान सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा हुने खबरदारी कार्यक्रममा सहभागी हुन उहाँले अनुरोध गर्नुभएकाे छ।

‘हामीले केही संकेत देखेपछि खबरदारी कार्यक्रम आयोजना गरेका हौं । दुईजना भएपनि सहभागी हुन्छौं ।’उहाँकाे भनाइ छ ।