६ जेष्ठ २०८१, आईतवार

लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता

Jilla Prahari Office Lamjung

लमजुङमा करिब ५ महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नाैवटा अपराधका घटना भएका पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नाैवटा उजुरी परेको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालु आर्थिक बर्षमा जबरजस्ती करणीसम्बन्धी अपराध चारवटा भएको पाइएको छ ।

जबरजस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बालयौन दुरुपयोगका घटना एउटा भएको श्रीमलले बताए । 

आर्थिक बर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो । सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी २० वटा परेको थियो । जबरजस्ती करणी उद्योगको तीनवटा, बालविवाहसम्बन्धी एउटा, बहुविवाहसम्बन्धी पाँचवटा परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो । 

यस्तै, आर्थिक बर्ष २०७७/०७८ मा २६ वटा घटना भएको थियो । जबरजस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबरजस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँचवटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो ।

करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैगिंक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षमा भन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ ।

 नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले बताएको छ । 

सवारी कारबाहीबाट चार महिनामा साढे २२ लाख राजश्व संकलन

लमजुङमा चालु आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ । 

जिल्ला ट्राफिक कार्यालय लमजुङले चालु आर्थिक बर्ष २०७९/ ०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको हो  । साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी राजाराम पौडेलले जानकारी दिए । 

साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिपकार एक सय ५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २ सय ५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए । 

त्यसै गरी भदौ महिनामा ट्रक, टिपर एक सय २३ वटा, बस ३९ वटा, जिपकार एक सय ९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल  चार सय ११ र अन्य १९ वटा गरी ८ सय ५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो ।

असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । असोजमा १ सय १८ ट्रक/टिपर,  ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए । 

यसैगरी कात्तिकान ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपैया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रक/टिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए ।

 गत आर्थिक वर्ष ०७८/ ०७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो ।