८ बैशाख २०८१, शनिबार

फिल्म निर्माता सन्तोष सेनविरुद्ध निर्माता संघमा उजुरी, चार करोड चौरासी लाख ठगीको आरोप

santos sen 2

फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ ।

निर्माता सेनविरुद्ध चलचित्र निर्माता संघमा सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन् । राईले सेनविरुद्ध संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै उजुरी दर्ता गराएका छन् । उनले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले अहिलेसम्म फिल्मको डिजिटल राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक-पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् । राईले निर्माता सन्तोष सेनले तीन करोड भारतीय रुपैँया विभिन्न समयमा लिएको र विभिन्न समयमा टिकट काटिदिएको ४ लाख ५० हजार गरी ४ करोड ८४ लाख ५० हजार सेनले तिर्न बाँकी रहेको जिकिर गरेका छन् ।

‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७/०८/२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। (चार लाख पचास हजार) सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ ।

राईले बारम्बार फोनमा ताकेता गर्दा सम्पर्क नगर्ने, कल नउठाउने घर जाँदा पनि नभेट्ने र आफ्नो रकम दुषित नियतले फिर्ता नगर्ने मनसाय राखेको समेत उजुरीमा उल्लेख गरेका छन्।

यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ । संघमा केही दिनअघि परेको उजुरीमाथि छलफल गर्न भनेर निर्माता संघले शुक्रबार दुवै पक्षलाई १ बजे संघको कार्यालयमा बोलाएको थियो । तर दुवै पक्ष अहिलेसम्म सम्पर्कमा नरहेको निर्माता संघ स्रोतले जनाएको छ ।

317855062 1663612460707953 3336712846516064419 n
317698979 544616280510463 6415672453048572459 n
317863074 452212666881872 2709306334817005696 n