१४ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेश : सरकार बनाउन अन्योल, केन्द्रको समीकरण कुर्दै दलहरू

madhes

दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको छ ।

सरकार बनाउन सङ्ख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले यहाँका नेताहरू समेत अन्योलमा परेका छन् ।

सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिकतर्फको परिणाम आएपछि नै ठोस रूपमा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताउनुभयो । ‘समानुपातिकको परिणाम आउँछ त्यसपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौं’, यादवले भन्नुभयो, ‘अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ । त्यहीअनुसार अगाडि बढिरहेका छौँ ।’

सत्तागठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रका नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताउनुभयो । ‘केन्द्रको निर्देशन आउला तर अहिले हामी गठबन्धनका नेताहरू छलफलमै छौँ । पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउँछौँ’, साहले भन्नुभयो ।

नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले प्रदेश कमिटीको बैठक आजै बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताउनुभयो ।

उहाँले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरु विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताउनुभयो ।

त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरु दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताउनुभयो ।

उहाँले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेड’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा राख्नुभयो ।

‘हाम्रो सङ्ख्या पुग्दैन, अर्को गठबन्धनको अवस्था पनि त्यस्तै छ’, राउतले भन्नुभयो, ‘केन्द्रको अवस्था के हुन्छ, अरुले पनि विकल्पका बारेमा कुरा गर्लान् । परिस्थितिअनुसार हामी अगाडि बढ्छौँ ।’

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारमै छ ।

कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टीलगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । तर जनमत पार्टीका प्रवक्ता बीपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताउनुभयो ।

‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौँ’ साहले भन्नुभयो, ‘अन्यथा शक्ति बाँडफाँट कसरी हुन्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।’

कुन गठबन्धनमा जाने गरी कुरा भइरहेको छ भन्ने जिज्ञासामा साह भन्नुहुन्छ, ‘हामी खुला छौँ, अरु पार्टीले औपचारिक रूपमा संवाद सुरु गरेको अवस्था छैन ।’

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै समानुपातिकको नतिजापछि यस विषयमा गम्भीर छलफल गर्ने बताउनुभयो ।

उहाँले गठबन्धन बहुमतको नजिक रहेको र समानुपातिकको सङ्ख्या हेरेर रणनीति बनाउने बताउनुभयो । ‘हामी छलफलमै छौँ । स्वतन्त्ररूपमा जित्नुभएका साथीहरू पनि सम्पर्कमै हुनुहुन्छ । त्यसैले चाँडै अन्योलता चिर्छौँ’, सोनलको भनाइ थियो ।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र एमाले–जसपा गठबन्धनमा २४ मत छ । यहाँ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार, जसपाले नौ, लोसपाले सात, जनमत पार्टी र स्वन्तन्त्र उम्मेदवारहरूले छरछ सिट जितेका छन् ।