१५ बैशाख २०८१, शनिबार

असम्भव के छ र यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्न गठबन्धन छाड्नुपर्ने ? : शंकर भण्डारी

shankar bhandari
फाइल फोटो

तनहुँ २ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जो प्रधानमन्त्री भए पनि आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्नुपर्ने औंल्याएका छन् ।

‘अहिले अन्तिम मत परिणाम आइसकेको छैन । तर कांग्रेस नेतृत्वको गठबन्धन चुनाव जितेर सरकार बनाउन मात्र नभईकन देश विकास र सुशासनका लागि बनेको हो । त्यसलाई निष्कर्ष नदिईकन गठबन्धन टुटाउनु देश र जनताप्रति धोका हो ।

प्रचण्डजस्तो जिम्मेवार नेता हिजोको धोकाधडी र पीडा भुलेर केपी ओलीतिर लाग्नुहुन्छ भन्ने लाग्दैन । गठबन्धन क्षणिक सत्ताप्राप्तिको विषय बन्नु दुर्भाग्यपूर्ण हुन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम कुरा गर्दै भण्डारीले भने ।

कांग्रेस नेता भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न असम्भव नभएको पनि बताए । उनले भने, ‘शीर्ष नेताहरुबीच समग्र चुनावी परिणामको वस्तुनिष्ट छलफल हुन्छ । जे जस्तो परिणाम आए पनि जनताको मत हो । जस्तो परिस्थिति छ, त्यसलाई सम्हालेर अघि बढ्ने हो ।

शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालले अब कुनै पनि व्यक्तिगत कुण्ठा र दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने बेला आएको छ । पाँच वर्ष गठबन्धनको सरकार चलाउनुपर्छ । प्रधानमन्त्री जो भए पनि हुन्छ । यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्न असम्भव के छ र गठबन्धन छाड्नुपर्ने ?’

पार्टीमा अन्तर्घातको समीक्षा हुने पनि भण्डारीले बताए । कांग्रेसले प्रधानमन्त्रीका रुपमा कसलाई अघि सार्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘मिडियाले सबैलाई उत्तिकै महत्त्व दिनुपर्छ । हामी पनि सांसद चुनिएर आएका छौं । सांसद, मन्त्री भएकै हो । भावी प्रधानमन्त्री शंकर भण्डारी हुन सक्दैन र ?’