१७ बैशाख २०८१, सोमबार

विजय जुलुस निकालेपछि भेटियो गन्न बाँकी मतपत्र !

Basanta Nembang

पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवारले विजयी र्‍याली निकालिसकेपछि गन्न बाँकी मतपत्र भेटिएको छ ।

नेकपा एमालेका उम्मेदवार बसन्त नेम्वाङ निर्वाचित भएको भन्दै एमालेका नेता कार्यकर्ताहरूले विजय र्‍यालीसहित उत्सब मनाएपछि गन्न बाँकी मतपत्र भेटिएको हो ।

पछिल्लो परिणामअनुसार नेम्वाङले ३२ हजार ११० मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ३२०६३ मत पाएका छन् । यो परिणाममा नेम्वाङले ४७ मतको अग्रता कायम गरेका छन् ।

यही अग्रतालाई आधार मान्दै एमालेका नेता-कार्यकर्ताले विजय जुलुस निकालेका थिए । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत गन्न थालिएको थियो । सो क्रममा १२ थान प्रत्यक्ष तर्फको मतपत्र भेटिएको पाँचथरका मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।

दाहालका अनुसार त्यहाँ नेम्वाङ निर्वाचित भएको आधिकारिक घोषणा भएको छैन । प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक तर्फको मतपेटिकामा भेटिएको छ । ती मतपत्र गणनापछि मात्रै मत परिणाम घोषणा हुन्छ।

सो मतपत्र समेत प्रत्यक्षमा गणना गरेको र अरु भेटिए पनि त्यसरी नै गणना गर्दै जाने उनले बताए । हालसम्म निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष तर्फको मतगणना सकेपनि आधिकारिक रुपमा घोषणा गरी प्रमाणपत्र नदिएको मुख्य अधिकृत दाहालले बताए । समानुपातिक तर्फको सबै मतपत्र गणना भएपछि मात्र विजेता घोषणा गरेर प्रमाणपत्र दिइने उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको पहलमा सर्वदलीय बैठकमा बसी अहिले मतगणना नियमित गरिएको छ । अहिले समानुपातिक तर्फका मतपेटिकामा भेटिएका प्रत्यक्ष तर्फका मतपत्र र समानुपतिकको मतपत्र एकसाथ गणना भइरहेको छ ।

हालसम्म समानुपतिक तर्फका मत पेटिकामा कांग्रेसलाई १० तथा एमाले र माओवादी केन्द्रलाई मत दिएको दुई–दुईवटा मतपत्र भेटिएको छ । योसँगै प्रत्यक्ष आङदेम्वे र नेम्वाङबीचको मतअन्तर ३९ मा झरेको छ ।

मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार जिल्लामा कुल ७५ हजार ३ सय १६ मत खसेको छ । हालसम्म समानुपातिकतर्फ २० हजार मत मात्र गणना भएको छ । समानुपातिकको मत गणना सकिएपछि दुवै तर्फको अन्तिम परिणाम घोषणा गर्ने तयारी रहेको दाहालले जनकारी दिए ।

प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा पनि प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि एमाले र कांग्रेसका प्रनिनिधिहरूबीच विवाद हुँदा शुक्रबार राति करिब दुई घण्टा मत गणना प्रभावित भएको थियो ।

    सम्बन्धित समाचार...