१६ चैत्र २०८०, शुक्रबार

घानाका कोच यस्तो भन्छन् रोनाल्डोको ‘पेनाल्टी गोल’ बारे, रेफ्रीले गलत निर्णय दिएको दाबी

CR7 3

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा गएराति घाना पोर्चुगलसँग ३–२ ले पराजित भयो । निकै रोमाञ्चक भएको यो खेलमा पाँचै गोल दोस्रो हाफमा भए । पाेर्चुगलका लागि क्रिस्टियानाे राेनाल्डाे, जाओ फेलिक्स र राफेल लियाेले एक/एक गाेल गरे ।

घानाका लागि आन्द्रे एयु र ओस्मान बुकारीले एक/एक गाेल फर्काए । स्टेडियम ९७४ मा भएको खेलमा ६५ औं मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत गाेल गर्दै पाेर्चुगललाई सुरुवाती अग्रता दिलाए ।

घानाका मोहम्मदले रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियाे । जसमा उनले सहजै गोल गरे । याेसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । उनले २००६ देखिका हरेक विश्वकपमा गाेल गरेका छन् ।

ro

७३ औं मिनेटमा एयुले घानालाई १–१ काे बराबरीमा ल्याए । ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । ८० औं मिनेटमा लियोले गोल गर्दा टाेली ३–१ ले अघि बढ्याे ।

८९ औं मिनेटमा बुकारीले गाेल गर्दै घानालाई खेलमा फर्काउन प्रयास गरे पनि त्याे पर्याप्त नबन्दा पोर्चुगलले ३-२ काे राेमाञ्चक जित निकाल्याे । याे जितसँगै पाेर्चुगलले तीन अंक जाेड्दा घानाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ ।

रेफ्रीप्रति घानाका प्रशिक्षक असन्तुष्ट

घानाका प्रशिक्षक ओटो अद्दोले रेफ्रीको गलत निर्णयका कारण पोर्चुगलसँग हार बेहोरेको बताएका छन् । उनले आफूहरूले राम्रो खेल्दाका बाबजुत पनि रेफ्रीको गलत निर्णयले खेलको नतिजा पोर्चुगलको हातमा परेको बताए । प्रशिक्षक अद्दोले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टी दिने रेफ्रीको निर्णयप्रति खुलेरै असन्तुष्टि पोखे ।

विहीबार रंगशाला ९७४ मा पोर्चुगलविरुद्ध ३–२ को हार बेहोरेपछि पत्रकार सम्मेलनमा बोल्दै ओटोले रेफ्रीको निर्णयका कारण खेल हार्न पुगेको बताए ।

‘पोर्चुगलसँग समग्रमा हामीले राम्रो खेल्यौं । यसका बाबजुत रेफ्रीको गलत निर्णयका कारण नतिजा भने पोर्चुगलले हात पार्न सफल भयो । रोनाल्डोलाई पेनाल्टी दिने रेफ्रीको निर्णय गलत थियो,’ खेल सकिएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक अद्दोले असन्तुष्टि पोखे, ‘जुन बेला रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिने निर्णय गरे । त्यसबेला खेलाडी जुध्दा त फल थिएन जस्तो लाग्छ । तर, पनि रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिने निर्णय गरे । उनको यो निर्णयले दुःखी छौँ ।’

उनले रोनाल्डोले रेफ्रीबाट उपहार पाएर कीर्तिमान बनाउन सफल भएकोमा बधाई पनि दिए । साथै, प्रशिक्षक अद्दोले पोर्चुगलसँगको हारपछि पनि आफूहरू अन्तिम १६ का लागि कडा प्रतिस्पर्धा गर्ने बताए ।

a 2