२१ बैशाख २०८१, शुक्रबार

आठ वर्षपछि विश्वकपमा फर्केको नेदरल्याण्ड्सको विजयी सुरुवात

netherlands

कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबारको दोस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगलललाई २-० ले पराजित गदै विजयी सुरुवात गरेको छ ।

अल थुममा रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले २-० को जित दर्ता गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्याण्ड्सले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो ।

चोटका कारण स्टार फरवार्ड साडियो माने विश्वकपबाट बाहिरिएपनि सेनेगलले नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करिब ८४ मिनेट गोल गर्नबाट रोकेको थियो ।

बराबरीतर्फ उन्मुख देखिएको खेलमा डच टोलीलाई गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए । उनले ८४ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । फ्रेंकी डे जोङको लामो पासमा गोलरक्षक एडुआर्ड मेन्डी ढिलो हुन पुग्दा गाक्पोको हेडर गोल भएको थियो ।

दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । मेम्फिस डिपाएको सुरुवाती प्रहारलाई गोलरक्षक मेन्डीले विफल पारेपनि रिबाउन्डमा डेभि क्लासेन गोल गर्न सफल भए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सेनेगल केहि फिका देखिएको थियो । खेलको ७३ औं मिनेटमा चेखु कोउयाटे घाइते भएर निस्केपछि सेनेगल समस्यामा परेको थियो ।

यस जितसँगै नेदरल्यान्ड्सको ३ अंक भएको छ । समूहको अंक तालिकामा डच टोली इक्वेडरसँग गोल र अंक बराबरीमा छ । इक्वेडरले उद्घाटन खेलमा कतारलाई २-० ले हराएको थियो ।

netherlands vs senegal

    सम्बन्धित समाचार...