
निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ ।
सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए ।
पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् ।
केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उनको भनाइ छ ।