२६ बैशाख २०८१, बुधबार

प्रम देउवा भन्छन् – चुनावपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ

deuba 1

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले बिचार, सिद्धान्त र पार्टी फरक फरक भएपनि संविधानको रक्षाका लागि पाँच दल एक ठाउँमा उभिएको भन्नुहुँदै डडेल्धुराको विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले जिल्लाका सडकहरू कालोपत्रे गर्ने र छिट्टै विमानस्थल सञ्चालनमा ल्याउने भन्नुहुँदै डडेल्धुरामा रहेका सबै अधुरा विकासका योजनाहरू आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो

उहाँले मेडिकल कलेज र महाकलीमा पक्की पुल निर्माण गरेर यहाँको आर्थिक विकासमा सहजता ल्याउने गरि आफू अघि बढ्ने प्रतिबद्धता ब्यक्त समेत व्यक्त गर्नुभयो ।

“गठबन्धन सरकारका साझा मुद्दाहरू छन् हाम्रा बीच कुनै मत भिन्नता छैनन् ।” प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले सहिदहरूको बलिदानी र राजनीतिक दलहरूको इच्छाशक्तिले लामो समयपछि मुलुकमा लोकतन्त्र ल्याउन सफल भएको पनि बताउनुभयो ।

चुनावी सभालाई प्रदेश क का उम्मेदवार खगराज भट्ट काँग्रेस नेता नैनसिंह महर लगायतले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री देउवा आजै बैतडीको शिवनाथ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

यसअघि, प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म डडेल्धुरामा बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उहाँ डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँ २०४८ सालयता हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ ।