७ बैशाख २०८१, शुक्रबार

अमेरिकाले डब्ल्यूएचओ संगको सबै सम्बन्ध तोड्ने घोषणा

trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उनले लगातार डब्लुएचओले चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् ।

कारोना भाइरसको संक्रमण शुरुमै रोक्न डब्लूएचओ असफल भएको आरोप उनले लगाएका छन। यसअघि नै ट्रम्पले डब्लूएचओलाई दिइँदै आएको सहायता बन्द गराइसकेका छन्। “डब्लूएचओ चीनको कठपुतली हो,” उनले भनेका छन। ‘वार्षिक ४० मिलियन अमेरिकी डलरमात्र दिने चीनको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन छ,जबकी अमेरिकाले उसको दाँजोमा संगठनलाई ४ सय ५० मिलियन डलर दिदैं आएको छ’, ट्रम्पले भने।

चीनतर्फ निशाना साँध्दै ट्रम्पले भने, “चीन सरकारको अपराधको सजायँ पूरै विश्‍वले भोग्‍नु परिरहेको छ । चीनले विश्‍वव्यापी महामारीको शुरुवात गर्‍यो, त्यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीलाई गुमााएर हामीले चुकाउनुपर्‍यो ।”

तर अमेरिकामा उनको प्रशासनले गरेको प्रयास पर्याप्त नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख दुई हजार ८०० भन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ४६ हजार पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदममा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ।