२५ बैशाख २०८१, मंगलवार

रोजगारीका लागि खाडीको विकल्पमा युरोप जाने क्रम बढ्यो

student foren
फाइल फोटो

नेपाली युवा रोजगारीका लागि खाडी र मलेसियाको विकल्पमा युरोपेली मुलुक पुग्न थालेका छन् । विशेष गरेर नेपाली युवाको आकर्षण माल्टा, पोर्चुगल र पोल्यान्डतर्फ देखिएको छ । सम्बन्धित मुलुक पुगेर निश्चित समय काम गरेपछि स्थायी बसोबासकै अवसर मिल्ने भएपछि यी देशमा व्यक्तिगत तबरमा जाने क्रम पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार जेठदेखि असोजसम्म ८८ देशका लागि करिब २० हजार युवाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै पोर्चुगल, माल्टा र पोल्यान्ड जान खोज्ने छन् ।

यी तीन देशका लागि मात्रै ५ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।  पोर्चुगलमा लगातार ५ वर्ष काम गरेपछि स्थायी बसोबास र त्यहाँकै राहदानी पाउने भएपछि खाडी र मलेसियाबाट फर्किएका युवाको ध्यान त्यतै तानिएको छ ।

युरोपका कृषि फर्ममा श्रमिकको माग बढ्दो छ । युरोपेली मुलुकले मौसमी कामदारसमेत मागिरहेका छन् । कृषि र सेवामा क्षेत्रमा कम मूल्यमा कामदार लगाउन पाइने भएपछि त्यहाँका मुलुकको रोजाइमा नेपाल जस्ता देश परेका छन् ।

नेपालका युवा अहिले माल्टा हुँदै पोर्चुगल जाने गरेका छन् । पोर्चुगलमा स्थायी बसोबासको अनुमति पाएपछि युरोपभर जान मिल्ने भएकाले युवाको आकर्षण बढेको छ । तर छोटो अवधिको श्रम स्वीकृति दिन सरकारले आनाकानी गर्दा अनौपचारिक तवरले जाने क्रम बढ्दै छ । 

त्यसो त व्यक्तिगत तवरमा सोझै युरोप जान त्यति सजिलो भने छैन । रोजगारदाताले निश्चित तलब र आवासको व्यवस्था गरेको विवरण श्रम मन्त्रालयलाई दिएपछि मात्रै श्रम अभिलेख राखेर अन्य प्रक्रिया अघि बढ्छ ।

यसरी जाने युवा भित्रभित्रै ठगीमा समेत पर्ने गरेका छन् । त्यति गर्दा पनि बाहिरिने युवाको भीड कम भएको छैन । कतिसम्म भने आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्ने बेलामा समेत वैदेशिक रोजगारी खोज्दै युवाहरू बाहिरिइरहेका छन् । यसले हाम्रा राज्य सञ्चालकप्रति युवाको विश्वास कस्तो छ भन्ने पुष्टि हुँदै गएको छ ।