१४ बैशाख २०८१, शुक्रबार

सरकारले छुट्यायो रेलमार्ग बनाउन ८ अर्ब ६६ करोड

rail EYmb7ohRYZ

सरकारले रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ ।

पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, दक्षिण सिमानबाट इटहरी, बुटवल, कोहलपुर रेल्वे लाइनको निर्माण गर्न, जनकपुर-जयनगर- विजलपुरा खण्डमा रेलसेवा सञ्चालन गर्न र बर्दिबास नीजगढ खण्डको निर्माण सम्पन्न गर्न सो बजेट विनियोज गरिएको हो ।

पूर्व-पश्चिमलगायतका विभिन्न रेलमार्गहरूको निर्माणका लागि एकमुष्ट आठ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा रेल विभागले सात अर्ब ७० करोड बजेट पाएको थियो । विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । बाँकी एउटा खण्डको पनि डीपीआर एक वर्षभित्र तयार हुँदैछ ।

विभागले डीपीआर सकिएका सबै खण्डका लागि जग्गा अधिग्रहण गरेर निर्माणको काम थाल्न सरकारलाई गत वर्षदेखि नै प्रस्ताव गर्दै आएको छ । हाल विभागले पूर्व-पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा रेल्वे ट्रयाक निर्माण गरिरहेको छ । यो करिब ७० किलोमिटरको खण्ड हो ।

विभागले आगामी वर्षबाट काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निर्माणको काम सुरु गर्नेछ । काँकडभिट्टा–इनरुवा–विराटनगर खण्ड करिब १०६ किलोमिटर लामो छ ।

पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ। नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।

निजगढबाट हेटौंडाहुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । एक वर्षभित्र यो खण्डको पनि डीपीआर तयार भइसक्ने दाबी विभागको छ।

सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुनेछ।