२८ बैशाख २०८१, शुक्रबार

सामान्य होइन, देशको भविष्य बनाउने अवसर हो आगामी निर्वाचन: ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनले देशको भविष्य बनाउने बताउनुभएको छ ।

झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले निष्पक्ष ढंगले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह पनि गर्नुभयो ।

पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि ओलीको अनुरोध थियो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।