२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सम्मानसहित शोक सलामी: वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा

satyamohan joshi 1

२००१ सालतिर तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर राणाले नेपालका कुन-कुन ठाउँमा तामा खानी, फलाम खानी छ भनेर अध्ययन गर्न टोली बनाए । त्यसैमा थिए सत्यमोहन । सोही टोलीको प्रतिवेदनका आधारमा नेपालमा पञ्चवर्षीय योजना सुरु भयो ।

२००६ सालमा जनसंख्या गणना टोलीमा रहँदा नेपालको नक्सासमेत तयार पारेका थिए उनले । घरेलु विभागको जागिरको सिलसिलामा तनहुँ र लम्जुङ पुगेका बेला औलो लागेर मृत्युनजिक पुग्दा रुखमा जुरेली चरी रमाइरहेको दृष्यलाई जीवनदर्शन बनाए । त्यस क्षेत्रमै लोकगीतको अध्ययन गरेपछि निकालिएको कृति ‘नेपाली लोकसंस्कृति’ ले उनलाई पहिलो पटक मदन पुरस्कार दिलायो ।

२०१५ सालमा पुरातत्व विभागको निर्देशक बनेपछि लिच्छवीकालीनदेखि राजा महेन्द्रसम्म प्रचलनमा रहेका मुद्राका विषय समेटेर ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तक लेखे, जसका लागि २०१७ को मदन पुरस्कार पाए । नाचघरको स्थापनामा पनि उनको भूमिका रह्यो । २०१० सालमा न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली पनि सत्यमोहन नै हुन् ।

२०२२ सालमा चीन गएर नेपाली भाषा र साहित्य पढाएका सत्यमोहनले अरनिकोका विषयमा अध्ययन गरेर महाकाव्य तथा शोधग्रन्थ तयार पारे । त्यतिबेलै उत्तरकोरियासमेत पुगे । नेपाल फर्किएपछि प्रज्ञा प्रतिष्ठानमा सहप्राज्ञ भएपछि जुम्लाको सिन्जा गएर ‘कर्णाली लोक संस्कृति’ नामक कृति तयार पारे। जसबाट उनले २०२८ को मदन पुरस्कार संयुक्त रुपमा पाए ।

त्यसपछिका दशकमा जोशी कला-संस्कृतिको अध्ययनमा निरन्तर लागे । उनका अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई, कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० भन्दा बढी कृति प्रकाशित छन्।

उनले उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कारलगायतका पदवी तथा पुरस्कार पाउनुका साथै काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधीको सम्मान पनि दिएको छ ।

नेपाल भाषा एकेडेमीका कुलपतिसमेत भए सत्यमोहन । एक सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित चाँदीको सिक्का पनि निकालेको थियो ।