२२ बैशाख २०८१, शनिबार

लामो समयदेखि राजनीतिमा सक्रिय नेताले नै पाएनन् टिकट

bhim rawal
फाइल फोटो

लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका केही नेताले चुनावमा टिकट नै पाएनन् । केहीले अनिच्छा देखाए । ठूला दलका केही नेता नेतृत्वसँग फरक मत राख्दा टिकट पाउनबाट बञ्चित भए भने केही स्वतन्त्रका रुपमा मैदानमा उत्रिएका छन् ।

गत वर्ष भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए मिनेन्द्र रिजाल । उनलाई सभापति शेरबहादुर देउवाले यसपटक टिकट दिएनन् ।

२०७४ मा मोरङ २ बाट चुनाव जितेका रिजालको सट्टा सुजाता कोइरालाले टिकट पाइन्। कांग्रेसमा पूर्वअर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य दिनेश कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरु गोविन्द पोखरेल र स्वर्णीम वाग्लेले पनि टिकट पाएनन् ।

वाग्ले टिकट पाउने अपेक्षाका साथ राष्ट्र संघको जागिर छाडेर नेपाल फर्केका थिए । उनी चितवन १ बाट सिफारिस भएका थिए । तर कांग्रेसले उनलाई टिकट दिएन । उक्त क्षेत्रमा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बाजी मारे। कांग्रेसमा दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री सबैले टिकट पाएका छन् ।

यस्तै, एमालेमा सचिवालयका १९ जनामध्ये विष्णु रिमाल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यबाहेक सबैले टिकट पाएका छन् । रिमालले टिकट नै पाएनन् भने ज्ञवाली र शाक्यले यसअघि नै चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए ।

अध्यक्ष केपी ओलीका प्रखर आलोचक घनश्याम भूसालले टिकट पाएनन् । भूसालले पार्टी परित्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनले सहयोग गर्दैछ ।

एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई अध्यक्षमा टक्कर दिएका भीम रावल अछाम १ बाट एकल सिफारिस भएका थिए। तर उनलाई टिकट नदिएर ओलीले भर्खरै माओवादीबाट प्रवेश गरेका झपट बोहरालाई रोजे ।

उता, मकवानपुर १ मा राप्रपा नेपालका कमल थापा सूर्य चिन्हबाट चुनाव लड्ने भएपछि रुष्ट एमाले मकवानपुरका नेता–कार्यकर्ताले पार्टी कार्यालयमै तालाबन्दी गरेका छन् । यस्तै, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नै टिकट पाएनन्। बरु उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले डोटी ख बाट टिकट पाए।

एमालेका रामवीर मानन्धरले टिकट नपाएपछि काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसको कारबाहीमा परेका नेता गोविन्दराज जोशीले तनहुँ १ मा आफ्ना चिरप्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई चुनौती दिँदैछन् । जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

माओवादीमा उपाध्यक्ष कृष्णबहादुर महरा र सभामुख अग्नि सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव हरिबोल गजुरेलले टिकट पाएनन् । त्यसबाहेक ६ उपमहासचिवले टिकट पाएका छन् ।

एमालेले टिकट नदिएपछि काठमाडौं-७ बाट रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

टिकट पाउने र नपाउनेबीचको विवादले चितवन,मकवानपुर,अछाम,काठमाडौं र मोरङ लगायतका जिल्लामा चर्चित नेतादेखि निवर्तमान सांसद समेत बागी उम्मेदवार बनेका छन् ।