१६ बैशाख २०८१, आईतवार

आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्नेले काठमाडौंमै मनोनयन पत्र दर्ता गर्न सकिने, यस्तो छ प्रक्रिया

dinesh thapaliya
फाइल फोटो

निर्वाचन आयोगले विभिन्न कारणले आफ्नै जिल्ला वा निर्वाचन कार्यालय पुगेर उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न नसक्नेहरूका लागि काठमाडौंमै मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था गरेको छ । 

दलहरूले वर्षाका कारण कतिपय जिल्लामा आवागमन अवरुद्ध भएकाले उम्मेदवारी दर्ता गर्ने दिन सारिदिन आयोगलाई आग्रह गरेका थिए । तर निर्वाचन तालिका फेरबदल गर्न अस्वीकार गरेको आयोगले उम्मेदवारी दर्ताका लागि सहज बनाई दिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले उम्मेदवार हुन चाहनेलाई मनोनयन दर्ता गर्न पर्ने अप्ठेरो फुकाउन आयोग तयार रहेको बताउनुभयो ।

उम्मेदवारले दलको आधिकारिक पत्र, वारेसनामा र मतदाता परिचयपत्रको निस्सा निर्वाचन आयोगमा बुझाए सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्थानान्तरण गरिदिने उहाँले जानकारी दिनुभयो ।

अब उम्मेदवारले आवश्यक कागजातसहित निर्वाचन आयोगको कार्यालयमा मनोनयन पत्र बुझाए आयोगले नै सम्वन्धित निर्वाचन कार्यालयमा पठाइदिनेछ । टिकटका लागि काठमाडौं आएका र टिकट पाएपछि वर्षाका कारण फर्कन गाह्रो परेकालाई सहज हुने भएको हो ।