१६ बैशाख २०८१, आईतवार

यस्तो छ सत्ता गठबन्धनविरुद्ध एमालेको गठबन्धन

uml jasapa

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ ।

प्रमुख दलहरू दुईवटा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिँदै छन् । पाँचदलीय सत्तागठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी एमालेले जसपासहितको गठबन्धन बनाएको छ ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सत्तागठबन्धनले लोसपासँग तालमेलको सहमति गरेको छ भने सिट बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनबाट बाहिरिएको जसपालाई एमालेले भित्र्याएको छ । प्रतिनिधिसभाका १७ र प्रदेश सभाका ४२ सिट पाउने गरी जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीसँग शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । लोसपाले भने सत्तागठबन्धनसँग प्रतिनिधिसभामा सात र प्रदेशमा १६ सिट पाउने गरी सहमति गरेको छ ।

सत्तागठबन्धनले शनिबार मध्यराति मात्रै प्रतिनिधिसभाको सिट बाँडफाँड टुंग्याएको छ । कांग्रेसले ८८, माओवादीले ४८, एकीकृत समाजवादीले २०, लोसपाले सात र जनमोर्चाले दुई सिट लिने सहमति भएको छ । सर्लाही २ मा भने गठबन्धन र लोसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति छ । यो क्षेत्र गठबन्धनमा माओवादीको भाग परेको छ, महेन्द्र यादव उम्मेदवार छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो त्यही क्षेत्रबाट उठ्ने तयारीमा छन् ।

सत्तागठबन्धनलाई चुनौती दिन एमालेले पनि जसपा, राप्रपासहित अन्य साना दललाई साथमा लिएर गठबन्धन बनाएको छ । शनिबार अबेरसम्म राप्रपालाई प्रतिनिधिसभाका तीन सिट दिन एमाले तयार भएको छ । झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देही ३ मा वरिष्ठ नेता दीपक बोहरा र बाँके २ मा महामन्त्री धवलशमशेर जबरालाई छाड्ने निश्चित भएको छ । तर, राप्रपाले थप सात सिट पनि माग्ने गरी ‘बार्गेनिङ’ गरिरहेको छ ।

एमालेले राप्रपा नेपाल र बिपी कांग्रेसलाई पनि साथमा लिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा बिपी कांग्रेसका उपाध्यक्ष कर्ण मल्ललाई एमालेले सघाउने भएको छ । त्यसको सट्टा एमालेले प्रदेश सभाका दुईवटै सिट लिने भएको छ । त्यस्तै, मकवानपुर १ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउँदै छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकको बन्दसूचीमा खस–आर्य पुरुषतर्फ प्राथमिकतासाथ दुई नम्बरमा राखेको छ ।

एमाले र जसपाबीचको सहमतिअनुसार मधेस प्रदेशसहितका १४ जिल्लामा दुई दलले मिलेर चनाव लड्नेछन् । मधेस आठ जिल्ला, प्रदेश १ का मोरङ र सुनसरी, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेल गर्ने निर्णय भएको छ ।

सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट र जसपाले १७ सिट लिनेछन् ।

दुई दलबीच भएको सहमतिअनुसार जसपाले मोरङ ५, सुनसरी १, सप्तरीको १, २ र ४, सिराहाको २ र ४, धनुषा १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहट २, बारा २, पर्साको १ र २ र रुपन्देही ४ पाएको छ । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा चार, मधेसमा ३२, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा एक सिट पाएको छ । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ भने कसैको भागमा परेको छैन । सहमति हुन नसकेका यी क्षेत्रमा ओली–यादव मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका छन् ।

जसपासँग तालमेलको सहमति गरेको एमालेले राप्रपासँग भने आंशिक तालमेल मात्रै गर्ने रणनीति लिएको छ । देशभरको करिब १० निर्वाचन क्षेत्रमा सहयोग मागेको राप्रपालाई अहिलेसम्म एमालेले तीन निर्वाचन क्षेत्रमा मात्रै सघाउन सकिने प्रतिबद्धता दिएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अहिलेसम्म एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि झापा ३, नेता दीपक बोहराका लागि रुपन्देही ३ र महामन्त्री धवलशमशेर राणाका निम्ति बाँके २ छाड्न तयार भएको छ । नयाँ पत्रिकामा यो खबर प्रकाशित छ ।