२० बैशाख २०८१, बिहीबार

निरन्तर पेलाईमा परे भीम रावल र धनश्याम भुसाल एमालेमा !

Bhim Ghanshyam

नेकपा एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने नेता थिए डा. भीम रावल । ओली पार्टीभित्र निर्विरोध अध्यक्ष निर्वाचित हुन चाहन्थे । आफ्नो एकछत्र राज भएको सन्देश दिन चाहन्थे । तर, रावलले सफल हुन दिएनन् ।

एमाले महाधिवेशनमा घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिएका थिए । उनी शंकर पोखरेलबाट पराजित भए । ओलीले आफ्नो चाहना अनुसार पद बाँडफाँट गर्न खोजेका थिए र कतिपय पद बाँडिदिए । तर, भुसालले पनि मानेनन् ।

एमालेभित्र वैचारिक रुपमा भुसाल सशक्त रुपमा प्रस्तुत हुन्थे । उनले ओलीको कतिपय कदमको कडा आलोचना गर्थे ।

रावल पनि ओलीको कटु आलोचक मानिन्छन् । उनी माधव नेपाल एमालेमै रहँदा संस्थापनइतर समूहमा रहेर ओलीको आलोचना गर्थे । एमाले विभाजन गर्दा रावल नेपालसँग गएनन् । तर, उनी निरन्तर पेलाईमा परे ।

चुनावमा टिकट बाँडफाँटको समय आउँदा ओलीले देखाइदिए । रावल र भुसाललाई टिकट दिएनन् । भुसालले एमाले छाडेको घोषणा गरिसकेका छन् । रावल पनि चाँडै कदम चाल्ने तयारीमा छन् ।

ओली आफ्ना पक्षधरलाई संरक्षण गर्न खप्पिस छन् । तर, विरोधीलाई तह लगाउन पनि उत्तिकै कस्सिएर लागिपर्छन् । उनले रावल र भुसाललाई कारबाहीको शैलीमा टिकट नै रोकिदिएका छन् ।