१४ बैशाख २०८१, शुक्रबार

४६ जिल्लामा फैलियो कोरोना, कुन जिल्लाका कति? आज कहाँ-कहाँ थपिए नयाँ संक्रमित

corona nepal

आज मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७७२ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारामा बसोबास गर्दै आएका २ जना, बारा पचौटा नगरपालिका-१ स्थित पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना गरी आज ३५ जना संक्रमित भेटिएका छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ। उनीहरुमध्ये कपिलवस्तुका दुई जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना छन्।

यस्तै सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २ जनाको कोरोना पोजेटिभ देखिएको छ। उनीहरु कैलालीका १ र अछामका १ जना छन्।

त्यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याड्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सबै सुर्खेतका हुन्। त्यसैगरी बाँकेका ७ जनामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलस्तुका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ वर्षकी बालिका देखि ५५ वर्षसम्मका रहेका छन्।

पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ११ हजार ६६, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६१, बागमती प्रदेशमा २४ हजार २ सय १६ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १६ हजार ८ सय ८०, कर्णाली प्रदेशमा १० हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ जनाको आरडिटी परीक्षण भएको छ ।

क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।

आज ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।

डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ। कोरोनाका कारण नेपालमा हालसम्म ४ जनाको मृत्यु भएको छ।