१३ बैशाख २०८१, बिहीबार

प्रहरी प्रधान कार्यालय निरीक्षणमा गृहसचिव सिंह, नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउन निर्देशन

0 2

गृह सचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको गतिविधिबारे जानकारी लिएका थिए । 

निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई सम्बोधन गर्दै विभिन्न निर्देशन दिएका थिए । 

उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील हुन आग्रह गरेको थिए । 

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । 

गृह सचिव सिंहले उच्चआचरण एवम् इमानदारिपूर्वक सांगठनिक प्रतिवद्धतामा अविचलित भई जिम्मेवारी वहन प्रहरीलाई निर्देशन दिएका थिए । 

इतिहासको हरेक असजिलो अवस्थामा आफूलाई संयमित राखेर राष्ट्रको सेवा र जनताको सुरक्षामा नेपाल प्रहरीले खेलेको भूमिका अत्यन्तै  सराहनीय रहेको उनले बताए ।   

सम्बोधनका क्रममा उनले नागरिकसँगको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । 

आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी जिम्मेवारी वहन गर्न उनले आग्रह गरेका थिए ।