२४ असार २०८२, मंगलवार

कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिए कांग्रेस घोषणापत्र समितिमा

pm sherbahadur deuba
फाइल फोटो

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा संयोजक रहेको समितिलाई बुधबार ४१ सदस्यीय बनाएका छन् ।

समितिमा पार्टीका केन्द्रीय सदस्य, समाजसेवी, इन्जिनियर, प्राध्यापक, डाक्टर, कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिएको छ ।

देउवाले वरिष्ठ पत्रकार सुरेश आचार्य र गेजा शर्मा वाग्लेलाई समितिमा राखेका छन् । यस्तै, साहित्यकार विष्णुविभु घिमिरे, श्रवण मुकारुङ समितिमा परेका छन् । 

घोषणापत्र तयारी समितिमा कलाकारिता क्षेत्रबाट एकजना मात्र परेका छन् । उनी हुन्, निर्देशक मिन भाम । चर्चित सिनेमा ‘कालोपोथी’ का निर्देशक कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार सिफारिससमेत भइसकेका छन् ।

यस्तै, क्रिकेटर विनोद दास पनि कांग्रेसको घोषणापत्र तयारी समितिमा परेका छन् । उनी लामो समयसम्म राष्ट्रिय क्रिकेट टोलीका सदस्य थिए ।

घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन् । 

देउवाले आज मनोनयन गरेका सदस्यमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य रंगमती शाही, केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल, केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र, केन्द्रीय सदस्य नानु बाँस्तोला, अनुराधा कोइराला र मनोहरनारायण श्रेष्ठ छन् । 

यस्तै मनोनयनमा परेका अन्यमा किरण गिरि, डा बिष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह,  ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ र प्रताप पौडेल रहेका छन् । 

डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र डा. प्रदीप पराजुलीलाई पनि देउवाले मनोनयन गरेका छन् ।