१४ बैशाख २०८१, शुक्रबार

फेरि टाउको दुखाई बन्दै गठबन्धन दललाई चितवनको निर्वाचन

gathabandhan

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जााँदा सत्ता गठबन्धनलाई चितवनको निर्वाचन फेरि टाउको दुखाई बन्ने देखिएको छ ।

पार्टीका उम्मेदवारले टिकट नपाएपछि गत स्थानीय तह निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूह गठबन्धनविरुद्ध उत्रियो । यसपटक पनि सोही अवस्था दोहोरिने देखिएपछि असन्तुष्ट समूह फेरि गठबन्धनविरुद्ध लाग्ने तयारीमा छ ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूहले बागी उम्मेदवारी दिएर गठबन्धनबाट भरतपुर महानगर प्रमुखकी उम्मेदवार रेनु दाहाललाई चुनौती दिएको थियो । कांग्रेसले प्रमुखको टिकट छाडेकोमा उक्त समूह असन्तुष्ट थियो ।

यसपटक पनि कांग्रेसले चितवन ३ मा आफ्नो उम्मेद्वार नपाउने निश्चित जस्तै छ । यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नै उम्मेद्वार बन्ने देखिएपछि असन्तुष्ट पक्षले गठबन्धनविरुद्धको अभियान थालेको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेद्वारको रुपमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल भुईकटहर चुनाव चिन्ह लिएर होमिएका थिए । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खााण, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासम्म लागि परे। तर मनाउन सकेनन् ।

बागी उम्मेद्वारी दिएका र उनलाई साथ दिने सबैलाई कांग्रेसले कारबाही गरेको छ । तर कांग्रेसभित्रै कारबाही फिर्ताको चर्को आवाज उठेपछि कांग्रेस चितवनले उनीहरु सबैलाई गरिएको कारबाही फिर्ता गर्न केन्द्रलाई पत्रसमेत पठाई सकेको छ । तर निर्णय नआइसकेकाले त्यो समूहले आफ्नो अभियान थालेको छ । त्यसैले अहिले फेरि गठबन्धनका लागि यो समूह टाउको दुखाई बनेको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूहले १४ हजार ७ सय २८ मत प्राप्त गरेको थियो । जसले गर्दा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जेनतेन ५० हजार मत कटाउन सकिन् । एमालेबाटै भोट तान्न सफल भएकाले दाहाललाई जित्न केही सहज भयो ।

संघीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा भरतपुरमात्र होइन माडी नगरपालिकासमेत पर्छ । यसै क्षेत्रमा राप्रपाबाट पूर्वमन्त्री विक्रम पाण्डेसमेत निर्वाचनमा होमिने निश्चित छ । माडी पाण्डेको राम्रो प्रभाव क्षेत्र हो । त्यसैले यसपटक चितवन क्षेत्र नम्बर ३ को निर्वाचन थप पेचिलो बन्ने निश्चित छ ।