६ बैशाख २०८१, बिहीबार

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ भन्छन्- चोलेन्द्रलाई कुनै पार्टीले बोक्नु गलत

rana shrestha

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधीवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन् ।

‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन ।

यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ,’ उनले भने ।

३५ बुँदे अभियोगमा दुई/चार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन् ।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ । उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘अदालत रहे न बार रहन्छ । बारले चासो राख्ने नै अदालत हो । अदालतमा जग्गा दलाल जस्तै दलालहरू हाबी भए । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घुस खान पनि बिचौलिया सिर्जना गरियो,’ उनले भने ।