७ बैशाख २०८१, शुक्रबार

आर्थिक वर्षको पहिलो महिना: सेवा आय ११ अर्ब ६ करोडले घाटामा

rastrabank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

चालु खाता १६ अर्ब २६ करोडले घाटामा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता साउन महिनामा १२ करोड ७७ लाखले घाटामा रहेको राष्ट्र बैंकले आज जारी एक विज्ञप्तिमा उल्लेख छ । 

गत साउन महिनामा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो ।