१६ चैत्र २०८०, शुक्रबार

प्रमुख दलहरुमा उम्मेदवार सिफारिसको चाप, कुन दलबाट कति आकांक्षी ?

cong uml maoist

मंसिर ४ गते हुने निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा ८ सय २५ जनप्रतिनिधि चुनिन्छन् । त्यसका लागि राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने कसरतमा छन् ।

दलहरुले तल्लो तहबाटै उम्मेदवार सिफारिस गर्ने नीति लिए पनि कयौं गुणा बढी आकांक्षी सिफारिस भएका छन् । यसले उम्मेदवार छान्न दलहरुलाई सकस पर्ने देखिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फबाट दलहरुमा कयौं गुणा बढी आकांक्षी सिफारिस भएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा मुख्य दलहरुबाट उम्मेदवार आकांक्षीको संख्या तेब्बरभन्दा बढी छ ।

संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेमा प्रत्यक्षतर्फ झन्डै ६ सय जनाको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकतर्फ ११० सिटमा ५०० भन्दा बढी सिफारिसमा परेका छन् ।

प्रदेशसभामा पनि अवस्था उस्तै छ । प्रदेशसभाका ३३० सिटमा एमालेका १ हजार र प्रदेशसभा समानुपातिकतर्फ २२० सिटमा ८ सयभन्दा बढीको सिफारिस छ ।

सत्ताको मुख्य घटक नेपाली कांग्रेसमा सबैभन्दा धेरै आकांक्षी छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार र समानुपातिकतर्फ १२ सय आकांक्षी सिफारिसमा परेका छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक गरेर ४ हजारभन्दा बढी आकांक्षी तल्लो तहबाटै सिफारिसमा परेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा पनि उम्मेदवार बन्न चाहनेको संख्या ठूलो छ । माओवादी केन्द्रबाट अहिलेसम्म ३ हजार ४ सयभन्दा बढी सिफारिसमा परेका छन् ।

उम्मेदवार सिफारिस गर्दा दलहरुले सकेसम्म सबै जिल्लाबाट महिलालाई समेट्न खोजे पनि आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, अल्पसंख्यकलगायतको क्लस्टर छुट्याएका छैनन् ।

विशेषगरी समानुपातिकतर्फ क्लस्टर मिलाएर निर्वाचन आयोगमा नामावली बुझाउनुपर्ने भएकाले दलहरुले त्यसको तयारी त थालेका छन् तर अत्यधिक आकांक्षी हुँदा व्यवस्थापनमा सकस देखिन्छ ।