११ बैशाख २०८१, मंगलवार

किन सधैं चुनावी एजेन्डा मात्र बन्छ मेघौली विमानस्थल ?

meghuli airport

चितवन सदरमुकाम भरतपुरबाट २५ किलोमिटर दक्षिणमा २०१७ सालमा बनाइएको मेघौली विमानस्थल २०६७ सालअघिसम्म नियमित सञ्चालनमा थियो । तर चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनेपछि यो विमानस्थल बन्द भयो ।

तत्कालीन बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलले निकै चर्चा पायो । राजपरिवारले समेत यही विमानस्थललाई रोज्दा धेरैले विमानस्थलको कायापलट हुने सोचेका थिए । तर, ६ दशक पुरानो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ ।

केहीवर्ष सुनसान बनेको विमानस्थलमा २०७४ सालको निर्वाचनका बेला नेपाल वायु सेवा निगमले ट्वीनअटर विमान उठाएको थियो । तर निर्वाचन सकिए लगत्तै विभिन्न बहानामा बन्द गरियो । अहिले अर्को निर्वाचनको तयारीसागै विमानस्थल पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरे पनि स्थानीयले पत्याएका छैनन् ।

कुनै समय चितवनको प्रमुख पर्यटकीय गन्तब्य थियो, मेघौली । पर्यटककै चहलपहलले मेघौली विमानस्थल भरतपुर विमानस्थलभन्दा बढी व्यस्त हुन्थ्यो । तर, आज मेघौलीमा त्यो रौनक छैन । यो ठाउँ अहिले उजाडिएको छ ।

विमानस्थलको स्तरोन्नति गर्ने भन्दै गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे । उनले विमानस्थल सञ्चालनमा आएसागै स्थानीयको समृद्धिमा सहयोग पुग्ने बताए ।

Capture 1

२२ बिगाहामा फैलिएको यो विमानस्थलमा अहिले पनि टावरलगायतका केही संरचना छन् । केही जग्गामा सुकुम्बासीले घर बनाएर बसेका छन् ।

अहिले सुरु भएको टोपोग्राफी सर्भे सकिए लगत्तै मेघौली विमानस्थललाई पीचसहित स्तरोन्नतिका लागि बोलपत्र आह्वान गर्ने तयारी सरकारको छ ।

विगतमा यो विमानस्थलबाट दैनिक १० वटा उडान हुने गरेका थिए । एक हजार दुई सय मिटर धावनमार्ग भएको मेघौली विमानस्थलमा २५ सिट क्षमताका ट्वीनअटर अवतरण गर्न सक्छन । कच्ची धावनमार्ग भएकाले मेघौलीमा ठूला जहाज भने अवतरण गर्न सक्दैनन् । धावनमार्ग कालोपत्रे गरेर विस्तार गर्ने हो भने यो विमानस्थल भरतपुर विमानस्थलको विकल्प बन्न सक्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा चितवन विकास भइरहँदा मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन नसक्नु आफैमा दुखद छ । तर लामो समय बन्द हुने र चुनावका बेला मात्रै चर्चामा आउने यो विमानस्थलको स्तरोन्नति गरी नियमित सञ्चालनमा ल्याउन सके चितवनको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्छ । अब यो कहिले सञ्चालनमा आउँछ त्यो हेर्न बाँकी छ ।