१३ बैशाख २०८१, बिहीबार

सामाजिक सन्जालबाट नाति-नातिनाको तस्बिर हटाउन हजुरआमालाई अदालतको आदेश

fb feature

नेदरल्यान्ड्सको एउटा अदालतले एक महिलाले नातिनातिनाका तस्बिर उनीहरूका आमाबुवाको अनुमतिविना फेसबुक र पिन्ट्रेस्टमा हालेको भन्दै ती तस्बिरहरू हटाउन आदेश दिएको छ। यो आदेश आमा र छोरीबीच मनमुटाव बढेर अदालतमा मुद्दा परेपछि आएको हो।

न्यायाधीशले यो मुद्दालाई युरोपेली युनियनको जेनरल डेटा प्रोटेक्शन रेगुलेशन कानुनले छुने बताएका छन्। एक विज्ञले यो आदेशले वर्षौँदेखि युरोपेली अदालतले लिएको अडानलाई प्रतिविम्बित गरेको बताएका छन्।

किन भयो विवाद?

हजुरआमाले आफ्नो नातिनातिनाका तस्बिरहरू सामाजिक सञ्जालबाट मेट्न अस्वीकार गरेपछि विवाद अदालतसम्म पुगेको बताइएको छ। ती बालबालिकाकी आमाले आफ्नी आमालाई ती तस्बिरहरू मेट्न बारम्बार अनुरोध गरेकी थिइन्।

जेनरल डेटा प्रोटेक्शन रेगुलेशन तथ्याङ्क वा डेटाको विशुद्ध व्यक्तिगत वा घरायसी प्रयोगमा लागु हुँदैन तर सामाजिक सञ्जालमा हाल्दा तस्बिरहरु सबैका लागि उपलब्ध हुने हुँदा त्यो नियम लागु नहुने आदेशमा भनिएको छ।

“फेसबुकका सम्बन्धमा ती तस्बिरहरू वितरण नभएका र तेस्रो पक्षका हातमा नपुग्ने भन्न सकिन्न,” आदेशमा भनिएको छ।

अदालतले अरू के भन्यो?

ती महिलाले कि तस्बिर हटाउनुपर्ने अन्यथा १,००० अमेरिकी डलरसम्म प्रत्येक दिनको ५० डलरका दरले जरिबाना तिर्नुपर्ने आदेशमा उल्लेख छ।

यदि उनले थप तस्बिर हालेमा प्रतिदिन थप ५० डलर जरिबाना लाग्नेछ।

“मलाई लाग्छ यो आदेशले केही नसोची तस्बिर इन्टरनेटमा हाल्ने मानिसहरूलाई अचम्भित पार्नेछ,” डिकोडेड लिगलका अधिवक्ता नील ब्राउनले भने।

“कानुनी कुरा जेसुकै भए पनि यस्ता तस्बिर हाल्ने मानिसहरूले सायद तस्बिरमा भएकाले व्यक्तिलाई इन्टरनेटमा आफ्नो तस्बिर हालेको मन पर्दैन कि भनेर सोच्नु उपयुक्त हुन्छ।”