१५ चैत्र २०८०, बिहीबार

मध्यरातमा निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा, स्थानीयको अवरोधपछि १२ राउन्ड हवाईफायर

alam Uf7HySVjio

राजपुर बमकाण्डका अभियुक्त रौतहट क्षेत्र–२ का निलम्बित सांसद पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ ।

ज्यूँदा मानिसलाई भट्टीमा जलाएको र विष्फोटक पदार्थ ओसार पसार मुद्दामा नख्खु कारागारमा रहेका रौतहट क्षेत्र नम्बर–२ का कांग्रेसका निलम्बित सांसद अफताव आलमको घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको हो ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् ।

हत्या र विष्फोट प्रकरणका आरोपित आलमका भाइ महमद महताब आलम लुकिछिपी घरमा आएको सूचनाको आधारमा प्रदेश–२ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे पुगेको प्रहरी टोलीले आलमको राजपुरस्थित घरमा छापा मारेको होे ।

छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला गर्दै प्रहरी टोलीलाई अवरोध गरेको थियो । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले १२ राउण्ड हवाइफायर समेत गर्नु परेको थियोे । प्रहरीले छापा मारे पनि महताब आलमलाई भने प्रहरीले फेला पार्न सकेन ।

राजपुर नगरपालिका मेयर सेख सकिलले डकैती शैलीमा मध्यरातमा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व ईद उलफित्रलाई प्रभावित बनाउन प्रहरीले षड्यन्त्र गरेको मेयर सकिलले आरोप लगाएका छन् ।

यता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले आलमका भाइलगायत ३ जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारिएको बताएका छन् ।

उनले भने, ‘अपराधीलाई पक्राउ गर्न कुनै साइत हेर्नु पर्दैन सूचना आउना साथ प्रहरी सक्रिय हुन्छ ।’ राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

के हो राजपुर बमकाण्ड ?

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरूलाई नजिकैको इँटाभट्टामा लगेर पोलेको आरोप आलममाथि लागेको छ ।

विष्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन थिएन । तर, सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको १२ वर्षपछि प्रहरीले रौतहट क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई २०७६ असोज २६ गते इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो ।

आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोगमा जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा पुर्पक्षको लागि कारागार चलान गरेपछि हाल उनी काठमाडौंको नख्खु कारागारमा छन् ।