
अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्।
हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्याउन आग्रह गरेका हुन्। ‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’ उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’
हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन्। उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। ‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनले भनेका छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’
उनले भारतले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको पनि बताएका छन्। ‘भारतले निरन्तर नेपाली भूमि दाबी गर्नाले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको छ। यो साँच्चै नेपालीको लागि अस्वीकार्य छ’ उनले भनेका छन्। उनले नेपाली भूमि जोगाउन पुर्खाले ठूलो बलिदान र संघर्ष गरेकोले भारतलाई भूमि अतिक्रमण नगर्न भनेका छन्। उनले कूटनीतिक तवरले विवाद हल गर्नुपर्ने बताएका छन्।
भारतले सत्य स्वीकार्नै पर्ने पनि बताएका छन्। हमालले भारतलाई सीमा अतिक्रमण गर्न छोडेर यस क्षेत्रको कोरोनाको महामारी अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्न सुझाब पनि दिएका छन्। नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ।
रिस र दोषले नेपाल र भारतलाई नै फाइदा नपुग्दै बताउँदै हमालले यस विवादमा सत्य र तथ्यलाई स्वीकार्नुपर्ने र कटनीतिक ढंगबाट समस्या सुल्झाउनुपर्ने बताएका छन्।
हमालका अनुसार नेपाल र भारतजस्तो असल मित्र विश्वमा कमैमात्र देखिन्छन् त्यसकारण भारतले तथ्य स्वीकार्नुपर्छ।
कोरोना प्रकोपबीच उत्पन्न भएको भारत र नेपालको सीमा विवादले अन्तराष्ट्रियस्तरमा उदाउँदो शक्ति भारतबारे नराम्रो सन्देश जाने पनि हमाल बताउँछन्।
भारतले यस क्षेत्रकै कोरोना महामारीलाई रोक्न नेतृत्व गर्नुपर्ने र उदाहरणीय कार्य गर्नुपर्ने हमालले बताएका छन्।
भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।
नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।
नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।