Close Me
१३ माघ २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई धक्का, प्रदेश कमिटी अध्यक्ष शाहीपछि पूर्व मन्त्री तामाङ एमालेमा फिर्ता

Tara Tamang

सुदूरपश्चिम प्रदेशका सांसद तारा लामा तामाङले नेकपा एमालेमै फर्किने घोषणा गर्नुभएको छ ।

एकीकृत समाजवादी नेता लामाले सोमवार प्रदेश सभाको बैठकमा आफू पुनः एमालेमै फर्किने घोषणा गर्नुभएको हो ।

एमाले विभाजन भएपछि उहाँ माधवकुमार नेपाल पक्षमा लाग्नुभएको थियो । नेता नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी खोलेपछि उहाँ उक्त पार्टीमा लाग्नुभएको थियो ।

समाजवादी पार्टीबाट उहाँ आर्थिक मामिला तथा योजना मन्त्री समेत बन्नुभएको थियो । प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएपछि उहाँलाई मन्त्रीबाट हटाइएको थियो।

मन्त्रीबाट हटाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।

तामाङले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम गर्न नसकेको गुनासो गर्नुभएको छ ।

उहाँले आगामी दिनमा संसदमा पनि एमाले सांसदकै रुपमा प्रस्तुत हुने जानकारी दिनुभयो ।

‘यो गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन, मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म अबदेखि सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु,’ उहाँले ससंदमा जानकारी गराउनुभयो ।

केही दिनअघि समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष बिक्रमबहादुर शाहीले पनि पार्टी परित्याग गरि पुनः एमालेमा फर्किएको घोषणा गर्नुभएको थियो ।

उहाँहरुलाई पुनः एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली भदौ १५ गते कञ्चनपुरमा जाने कार्यक्रम रहेको बताइएको छ।