७ बैशाख २०८१, शुक्रबार

प्रदर्शन रोक्ने घोषणा सहित देशभरका हलबाट उतारियो ‘राधा’

radha

फिल्म ‘राधा’ निर्माण टिमले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

‘राधा’ फिल्मका निर्माताले हलवालाहरुले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै प्रदर्शनबाट उतार्ने घोषणा गरेका हुन् । भदौ १० गतेदेखि प्रदर्शनमा आएको ‘राधा’ मंगलबारबाटै देशभरका हलबाट उतारिएको छ ।

निर्मात्री देवकी विष्टले पत्रकार सम्मेलनमा भनिन्, ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । शो दिइए पनि दर्शकको लागि अनुकूल समय रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं।’ प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएको उनले बताईन ।

‘हलवालाले पनि दर्शक हुँदाहुँदै दिन प्रतिदिन शो घटाएर दर्शक फर्काइरहेको छ । ‘बोल्नेहरुको शो बढाइएको छ, नबोल्नेको बढेन । हलहरुले गरेको विभेद हामीलाई स्वीकार्य छैन ।’ यो फिल्ममाथि शो बाँडफाँटमा विभेद र अन्याय भएकोले अब हलमा राख्नु उचित नठानेर शो रोक्न लागेको निर्माता विष्टको भनाइ छ ।

उनले तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि लगाइन् । ‘तीजको दिनमा शो बढ्ला कि भन्ने आशा थियो, त्यो पनि भएन । त्यसपछि रोक्ने निर्णय गरेका हौं,’ उनले भनिन् ।

फिल्म अपेक्षित दर्शकसम्म नपुगेको र वितरकबाट सहयोग पनि नपाएको भन्दै नयाँ शैलीमा पुन: रिलिज गर्ने गरी अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गर्न लागेको निर्माता तथा निर्देशक सुवर्ण थापाले बताएका छन् ।

फिल्म ‘राधा’ले क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि अपेक्षित शो पाउन भने सकेको छैन । सुवर्ण थापा निर्देशित फिल्ममा सौगात, मल्ल, सृष्टि श्रेष्ठ र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् भने निश्चल बस्नेत, दयाहाङ राई, दिव्य देव आदि कलाकार अतिथि भूमिकामा छन् । फिल्ममा बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक आदि कलाकारको पनि अभिनय रहेको छ ।

यो फिल्मले हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्ष र महिलाको सहनशिलताको कथा भन्छ।