१५ बैशाख २०८१, शनिबार

भारतको प्रतिक्रिया : नेपालले सार्वजनिक गरेको नक्सा मान्य छैन

politics

भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

लिम्पियाधुरा र कालापानी क्षेत्रलाई राखेर नेपालले नक्सा सार्वजनिक गरेपछि भारतले उक्त निर्णयलाई स्वीकार नगर्ने प्रतिक्रया जनाएकको छ।

बुधबार भूमि सुधार मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनबाट यसअघि छुटेको लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेकी थिइन् ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको छ । नेपालले नयाँ नक्शामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतको दाबी छ ।

सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छ ।’ साथै नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।