७ बैशाख २०८१, शुक्रबार

अग्निपथ योजनामा गोर्खा रेजिमेन्ट पनि जोडिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको चासो

Bidhya
फाइल फोटो

भारतीय सेनाको अग्निपथ योजनामा गोर्खा रेजिमेन्ट पनि जोडिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राख्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका पदाधिकारीसँग आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले अग्निपथ योजनामा नेपाली युवाको भर्तीबारे प्रष्ट धारणा बनाउन सरकारलाई सुझाव दिनुभएको हो ।

राष्ट्रिय सहमति जुटाएर मात्र नेपालले भारतसँग आफ्नो कुरा राख्नुपर्नेमा राष्ट्रपतिले जोड दिएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेतासँग पनि आजै छलफल गर्नुभएकी राष्ट्रपति भण्डारीले अग्निपथ योजनामा राजनीतिक दलहरुबीच संवाद हुनुपर्ने धारणा राखेको बताइएको छ ।

भारतले नेपाली युवा भर्ना हुने गोर्खा रेजिमेन्टमा समेत अग्निपथ योजना लागु गर्ने जानकारी नेपाल सरकारलाई दिएको थियो । सोबारे परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर भारत सरकारको लिखित जानकारी माग्नुभएको थियो ।

नेपालले तत्कालका लागि नेपाली युवाको भर्ना प्रक्रिया अघि नबढाउन भारतलाई आग्रह गरेको छ । योसँगै बुटबलमा सुरु हुने भनिएको भर्ना रोकिएको छ ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपाली युवाको भर्ती सम्बन्धी नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि भएको थियो । सो सन्धिअनुसार अग्निपथ योजना गोर्खा भर्तीमा लागु हुन नहुने नेपाली पक्षको तर्क छ ।