१६ चैत्र २०८०, शुक्रबार

पुनः उम्मेदवार हुन नपाउने व्यवस्था: कुनकुन नेता समानुपातिक सूचीमा पर्दैनन् ?

congress uml

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पुरानाभन्दा नयाँलाई प्राथमिकतामा राख्ने प्रमुख दुई दलको निर्णय सकारात्मक मानिएको छ ।

नेपाली कांग्रेसले आफ्नो विधानअनुसार समानुपातिकमा अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदलाई नदोहोर्‍याउन परिपत्र गरेसँगै एमालेले पनि आमरुपमा समानुपातिक सांसदलाई नदोहोर्‍याउने नीति लिएको छ । प्रमुख दुई दलको यो निर्णयबाट कुन नेताले दोहोरिन पाउँदैन त ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ १० गते मातहतका निकायलाई परिपत्र गर्दै अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका सांसदलाई सिफारिस नगर्न निर्देशन दिनुभयो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा दुबैका समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने गरी सिफारिस गर्न निर्देशन दिंदा २०७४ मा निर्वाचित समानुपातिक सांसद दोहोरिन पाउँदैनन् ।

कांग्रेसको विधानको धारा ३३ को उपधारा २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको निर्वाचनमा समानुपातिकका आधारमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ । यो व्यवस्था अनुसार कांग्रेसका कुनकुन नेता समानुपातिक सूचीमा पर्दैनन् त ?

–पुष्पा भुसाल गौतम (उपसभामुख)
–बालकृष्ण खाण (गृहमन्त्री)
–दिलेन्द्रप्रसाद बडू (उद्योगमन्त्री)
–उमा रेग्मी (महिला, बालबालिकामन्त्री)
–उमेश श्रेष्ठ (राज्यमन्त्री)
–चित्रलेखा यादव (प्रमुख सचेतक)
–मीन विश्वकर्मा (सचेतक)
–सुजाता कोइराला
–मीना पाण्डे
–पद्मनारायण चौधरी
–सीतादेवी यादव
–विनोदकुमार चौधरी

यीसहित ४० जना सांसदले अबको निर्वाचनमा समानुपातिकतर्फबाट टिकट पाउँदैनन् । यी नेताहरु सांसद बन्नका लागि प्रत्यक्षतर्फ जानुपर्छ, अन्यथा उनीहरु प्रतिनिधिसभाभन्दा बाहिर रहन्छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ४० सिट समानुपातिकतर्फ पाएको थियो ।

कांग्रेसको यो परिपत्रपछि एमालेले पनि केन्द्रीय कमिटी बैठकबाटै समानुपातिक सांसदलाई आमरुपमा नदोहोर्‍याउने निर्णय गरेको छ ।

एमालेमा पुनः दोहोरिन नपाउने समानुपातिक सांसद यी हुन् –
–शिवमाया तुम्वाहाङ्फे
–थममाया थापा
–तुलसी थापा
–नवीना लामा
–राधाकुमारी ज्ञवाली
–विन्दा पाण्डे
–निरुदेवी पाल
–शान्ता चौधरी
–गंगा चौधरी सत्गौवा
–विजय सुब्बा
–मोतीलाल दुगड
–जुलीकुमारी महतो

यीसहित ३० जना सांसदले पुनः समानुपातिकतर्फ उम्मेदवार हुन पाउँदैनन् । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ एमालेले ४१ सिट हात पारेको थियो । त्यसमध्ये ११ सांसद एकीकृत समाजवादीतर्फ लागे । समानुपातिकमा नाम काटिने ३० सांसदले अब प्रत्यक्ष निर्वाचनका लागि टिकट पाउनैपर्छ ।

अन्यथा उनीहरु आगामी कार्यकालका लागि सांसद बन्न पाउने छैनन् । प्रमुख दुई दलले समानुपातिकबारे मापदण्ड बनाएपनि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलले कुनै निर्णय गरिसकेका छैनन् । कांग्रेस र एमालेको निर्णयले अन्य दललाई समेत दबाब परेको छ ।