७ बैशाख २०८१, शुक्रबार

बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

bhaktapur

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएकाे हाे । 

गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये नारायणमान जेठा छोरा हुन् । हस्तान्तरण कार्यक्रममा बिजुक्छें दाजुभाईइका कान्छो भाई एवं भक्तपुर नगरपालिका-५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भीमसेन सतलको इतिहासबारे बताएका थिए । सत्तललाई जाेडेर विपक्षीले सधैं राजनीतिक मुद्दा बनाएको र अब उनीहरूले त्यो मुद्दा बनाउन नसक्ने बताए । विविध कारणले पहिलादेखि नै उक्त सतल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएको उनले बताए ।

सत्तल हाल भक्तपुर नगरपालिका-५ सुकुलढोकामा पर्छ । यहाँ पहिला भीम आदर्श निम्न माध्यमिक विद्यालय रहेकोले यस स्कुललाई भीम आदर्श स्कुलको सत्तल भनी धेरै चिन्दछन् । सतल दुई कितामा विभाजित छ । दुवै कित्ताको सतल हस्तान्तरण गरिएको हो । एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल छ । 

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकामा हस्तान्तरण गरिएको सतलको इतिहासबारे थपअनुसन्धान गरी आवश्यकताअनुसार संरक्षण गर्ने वचन दिए ।