११ बैशाख २०८१, मंगलवार

नौ समूह गठन ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न

uml meting

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले ९ वटा समूह बनाएको हो ।

बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ति समूहले भोलि बस्ने बैठकमा प्रश्तुती राख्ने बताउनुभयो ।

बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय अनुशासन आयोगको, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रस्ताव भएको उहाँले बताउनुभयो ।

त्यस्तै, गत स्थानीय निर्वाचनमा पार्टी भित्र देखा परेका समस्याहरु छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि रिजालले बताउनुभयो ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाइ छ ।

यसैगरी, केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरुको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रिय कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ ।

जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।