१६ चैत्र २०८०, शुक्रबार

राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा बुबाको मुख हेर्ने दिन घुइँचो

mukh

राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा सोमबार मेला लागेको छ। कुसे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ।

यस वर्षको भाद्र कृष्ण औंसीका दिन बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको छ।

बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ। आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ।

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ।

आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ। गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ। आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक कुशे औंसीका दिन उखेलिएको कुश वर्ष भरी प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ।

    सम्बन्धित समाचार...