११ बैशाख २०८१, मंगलवार

धेरैको चासो योग्यले टिकट पाउनेमा आशंका एमालेमा ?

kp oli

प्रमुख प्रतिपक्ष नेकपा एमाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा जुटेको छ ।

सत्तारुढ पाँचदलले तालमेल गरेपछि अप्ठ्यारोमा परेको एमालेलाई एक्लै मैदानमा उत्रेर चुनाव जित्न भने सजिलो छैन् । त्यसो त पार्टीभित्र मापदण्ड अनुसार नै योग्य नेता कार्यकर्तालाई टिकट दिइन्छ कि नेतृत्वको निर्देशन हावी हुन्छ ? एमालेभित्रै धेरैको चासो छ ।

एकबर्ष अघि सरकारबाट हटेपछि सत्तारुढ गठबन्धनविरुद्ध निरन्तर आक्रामक बन्दै आएको एमालेको ध्यान अब चुनाव कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा छ । उसको अहिलेको मुख्य चिन्ता गठबन्धन दल एकजुट हुँदा प्रत्यक्षमा कसरी जित्नै भन्ने हो ।

किनभने २०७४ सालको निर्वाचनमा वाम तालमेल गरेर उसले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ८० सिट जितेको थियो । तर आन्तरिक शक्ति संघर्ष चुलिँदा न सरकार रह्यो नत पार्टी नै एकजुट भयो ।

विपक्षमा पुगेपछि गत वैशाख ३० गतेको निर्वाचनमा अघिल्लोको भन्दा झण्डै एक सय ५० सिट गुमाएको एमालेलाई अब कसरी चुनावको सामना गर्ने भन्ने चुनौति छ ।

अप्ठ्यारोबीच चुनावी मैदानमा होमिने तयारी गरेको एमालेलाई आफ्नै दलभित्र उम्मेदवार मिलाउनुपर्ने अर्को चुनौति छ । मापदण्ड एकातिर टिकट अर्कैतिर हुँदा स्थानीय तहमा धेरै अन्तर्घात भएको ठहर नेतृत्वले गरेको थियो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार छनोट गर्दा पनि त्यही गल्ती दोहोरिने आशंका नेताहरुभित्रै छ ।

पार्टी विभाजन भएको घाटा पनि एमालेले यो चुनावमा भोग्नुपर्ने देखिन्छ । त्यसैले बारम्बार टिकट पाएका भन्दा पार्टीको सिद्धान्त र विजयी सुनिश्चित गराउन सक्ने नयाँ पुस्तालाई अघि बढाउनुपर्ने आवाज एमालेमा उठेको छ।

सत्ता गठबन्धन बलियो हुँदा हुने घाटा र पार्टीभित्रै नेतृत्वको दबदबाले एमालेमा धेरै नेता कार्यकर्तालाई मंसिर ४ को चुनाव कसरी जित्ने भन्ने चिन्ता छ । त्यसैले नेतृत्वले कस्ता उम्मेदवारलाई चुनावी मैदानमा उतार्छ त्यसले एमालेमा ठूलै अर्थ राख्ने देखिन्छ ।