१३ बैशाख २०८१, बिहीबार

उत्पादनमुखी अर्थतन्त्र आवश्यक, आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: मन्त्री शर्मा

janardar 05 10 1024x682 1

अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ ।

नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो ।

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले देश चलाउन भन्सारको राजस्वमा भर नपरी आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।

देशको अर्थतन्त्रलाई स्थायित्व दिन गाउँ गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उहाँले बताउनुभयो । उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उहाँले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताउनुभयो । निजी, सहकारी र सरकारी तवरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताउनुभयो । आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताउनुभयो । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । अहिले गठबन्धनलाई सफल पार्ने गरी छलफल भइरहेको उहाँले बताउनुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर बगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाईं र सहकोषाध्यक्षमा केदारबहादुर कार्की रहनुभएको छ ।