१४ बैशाख २०८१, शुक्रबार

अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण माओवादी केन्द्रसँग चुनावी तालमेल : डा भट्टराई

Dr. baburam bhattarai
फाइल फोटो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो ।

उहाँले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रपनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताउनुभयो।

उहाँले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताउनुभएको हो ।

उहाँले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो ।

एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमती जुटेमा एकता हुनसक्ने बताउनुभयो ।