६ चैत्र २०८०, मंगलवार

भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन, हामीले चल्तेचलाते लोकतन्त्र होइन, जनताको लोकतन्त्र खोजेका हौं : प्रधानमन्त्री

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलवार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले हरेक राष्ट्रको आफ्नै स्वाभिमान हुने धारणा राखे ।

कतिपय बुद्धिजिबीले छिमेकीको इशारामा सरकार फेरिने टिप्पणी गरेको भन्दै उनले भने ‘यो सरकार नेपाली जनताले बनाएको हो । कुनै विदेशको इशारामा ढल्दैन ।’ साथै उनल नेपालमा अब कुनै तानाशाह आउने सम्भावना नरहेको बताए । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारले छानबिन गर्न थालेपछि केशहरु देखिएको टिप्पणी गरे । भ्रष्टाचारीलाई छानबिन र कार्वाही गर्ने काम अगाडी बढ्दै जाने उनले बताए ।

हामीले चल्तेचलाते लोकतन्त्र होइन, जनताको लोकतन्त्र खोजेका हौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चल्तेचलाते लोकतन्त्र नभई जनताको लोकतन्त्र खोजेको बताएका छन्।

प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले केही राजनीतिक स्वतन्त्रतासहित सीमित अधिकारको सतही लोकतन्त्र नभई आफूहरूले पिँधमा रहेका जनताको जीवन उकास्ने लोकतन्त्र खोजेको बताए।

‘हाम्रा सडक बालबालिका फोहोरमा कुकुरसँगै लड्दै खानेकुरा खोजिरहेका छन्। हाम्रा वृद्धवृद्धाको सहारा छैन भने त्यस्तो लोकतन्त्रको के काम?,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसैले यो सरकार बनेको दुई वर्षमै सडक बालबालिकामुक्त बनाएको छ।’

उनले पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिकंनको प्रजातन्त्रको परिभाषा उधृत गर्दै आफूहरूले पनि त्यस्तै जनताका लागि जनताको परिपूर्ण लोकतन्त्र ल्याउन खोजेको बताए।

जुन देशले लोकतन्त्र, लोकतन्त्र भन्छन् तर गरिबको कुनै घर हुँदैन भने त्यस्ता देशले सरम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले कोरोनाभाइरसको महामारीले राज्यको महत्व थप बढाएको पनि बताए।

‘जनताको शासक होइन सेवक राज्य हुनुपर्छ भनिएको हो। यसमा नबुझिने कुरा के छ र१,’ प्रधानमन्त्री ओलीले भने,‘जिडिपी र पर क्यापिटल इनकमका आधारमा होइन ह्यापिनेसका आधारमा लोकतन्त्रको मापन हुनुपर्छ।’