४ बैशाख २०८१, मंगलवार

निर्माण व्यवसायीले ज्याला नदिँएपछि मजदुरले गुहारे प्रशासन

worker

रोल्पा अस्पतालको भवन र सिमलबाङ-दारबोट सडक कालोपत्रे गर्ने जिम्मा पाएको आशीषश्री जयन्ती निर्माण कम्पनीले ज्याला नदिँदा कामदार समस्यामा परेका छन् ।

निर्माणका लागि तीन पटकसम्म म्याद थप्दा पनि काम सकिएको छैन । कामदारले ज्याल नपाएको भन्दै प्रशासनमा उजुरीसमेत दिएका छन् ।

भारतका प्रियरञ्जन प्रधान रोल्पा आएको २ वर्ष भयो । उनी निर्माणाधीन ५० शय्याको रोल्पा अस्पताल भवनमा प्लम्बरको काम गर्छन् । तर अहिलेसम्म काम गरेवापतको पैसा पाएका छैनन् ।

घरमा बुबा, आमा बिरामी हुँदासमेत घर जान पाएका छैनन् । प्रधानले ठेकेदारसँग करिब ३० लाखभन्दा बढी रकम लिन बाँकी छ ।

त्यस्तै प्लास्टरको जिम्मा पाएका सप्तरीका सोमन साहले आफ्नै जग्गा धितोमा राखेर कामदारलाई ज्याला दिनु परेको छ। साहले पनि ठेकेदारसँग २० लाख रुपैयाँ लिन बााकी छ ।

भवन निर्माणको काममा खटिएका २० कामदारले पनि ज्याला पाउन सकेका छैनन् । चार वर्षअघि तीन वर्षमा निर्माणको काम सक्ने गरी २९ करोड ५१ लाख रुपैयाँमा आशिषश्री जयन्ती निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । त्यस्तै सिमलबाङ-दोरबोट सडकको कालोपत्रे तीन वर्षमा सक्ने २१ करोड ६८ लाख रुपैयाँमा सोही कम्पनीले ठेक्का पाएको थियो ।

उक्त निर्माण कम्पनीले साढे ६ वर्षमा तीन पटकसम्म म्याद थप गर्दा पनि ४० प्रतिशत मात्र काम सकेको छ । निर्माणमा खटिएका कामदारले पनि ज्याला पाउन सकेका छैनन् ।

उनीहरुले यतिवेला जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् । समयमै ज्याला दिन ताकेदा गर्दा पनि ठेकेदारले विभिन्न बहाना बनाउँदै अटेरी गरेको प्रशासन बताउँछ ।

अस्पतालले मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति पाइसकेको छ । तर भौतिक पूर्वाधारको कमीले चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका स्वीकृत जनशक्ति रोल्पा आएको छैन । यसतर्फ सरकारवाला निकायले समयमै ध्यान दिन आवश्क छ ।

rol