१३ बैशाख २०८१, बिहीबार

पार्टीभित्रै देउवालाई भाग मिलाउन सकस, कोइराला समूहले माग्यो ४० प्रतिशत

deuba sekhar
फाइल फोटो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पराजित शेखर कोइराला नेतृत्वको समूहले पार्टीभित्र ४० प्रतिशत हिस्सा माग गर्दै दबाब बढाएको छ ।

भ्रातृ संस्थामा नेतृत्व ल्याउँदा सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै कोइराला समूहले राष्ट्रियसभा गृहमा खबरदारी सभा नै गरेर अब चुप नबस्ने चेतावनी दियो ।

–२०७८ चैत ९ मा सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलमा अध्यक्ष मनोनित गरेलगत्तै शेखर कोइराला पक्षले चैत्र ११ गते गुटको अलग्गै भेला गर्‍यो ।
–केन्द्रीय समिति बैठकअघि २०७९ असार १६ गते शेखर कोइराला पक्षका केन्द्रीय सदस्यहरुको अलग बैठक बस्यो ।
–भ्रातृ संस्थालाई पूर्णता नदिएपछि आक्रोशित कोइराला समूहले बुधबार पार्टी संस्थामा भएको एकाधिकारविरुद्ध खबरदारी सभा गर्‍यो ।

कांग्रेसको १४औँ महाधिवेशनपछि पराजित शेखर कोइराला नेतृत्वको समूहले अलग गतिविधि गरिरहेका यी केही प्रतिनिधिमूलक घटना हुन् । भ्रातृ संस्थामा नयाँ नेतृत्व आउँदा होस् वा स्थानीय तहको निर्वाचनमा टिकट वितरणका बेला धेरै भाग लिन कोइराला समूहले सक्रियता बढाएको थियो । मंसिर ४ गते निर्वाचनको मिति घोषणा भएसँगै पुनः यो समूहको सक्रियता बढेकोछ । बुधबार राष्ट्रियसभा गृहमा खबरदारी सभा गरेरै यो समूहले पार्टीभित्र न्यायोचित हिस्सा नपाए समानान्तर गतिविधि गर्ने चेतावनी नै दिएको छ ।

खबरदारी सभामा कोइराला स्वयं भने सहभागी हुनुभएन । कोइराला समूहबाटै उपसभापति बनेका धनराज गुरुङ र महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार कोही पनि सहभागी भएनन् ।

कार्यक्रममा कोइराला निकट केन्द्रीय सदस्यहरु किरण यादव, सरिता प्रसाईं, दिनेश कोइराला, प्रतिमा गौतमलगायत पनि नबोली बाहिरिए । पार्टीभित्र न्यायोचित भागबण्डाका लागि खबरदारी सभा भने पनि निर्वाचनको संघारमा देखिएको सक्रियतालाई धेरैले पार्टीभित्र धेरै टिकट लिने कोइराला गुटको रणनीतिका रुपमा हेरेका छन् । तर, कोइराला निकट भने खबरदारी सभालाई लेनदेनको विषयका रुपमा हेर्न नहुनेतर्क गर्छन् ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि रहेको खबरदारी सभा शुरु हुँदा जस्तो उत्साह देखिन्थ्यो, केन्द्रीय नेताहरुनै वक्ता नबन्दा भने सहभागीहरु खिन्न देखिन्थे । कतिपय केन्द्रीय नेताहरु भने अहिले खबरदारी सभामा बोल्दा भोलि टिकट खोसिने हो कि भन्ने त्रासमा समेत देखिए ।

कोइराला समूहले पार्टीभित्र बढाउँदै लगेको दबाबले सभापति देउवासँग भ्रातृ संस्था र संसदीय निर्वाचनमा धेरै अंश लिन कोइराला समूह सफल होला वा यो समूह सभापति देउवाको थप कोपभाजनमा पर्ला ? चासोका साथ हेरिएको छ ।