१६ चैत्र २०८०, शुक्रबार

लाखौँ खर्चन बाध्य रहेका नेपाली युवालाई शून्य लागतमा मलेसियामा रोजगारी

kwalalampur malaysia

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।

मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ ।

दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताउनुभयो । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उहाँको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ ।

सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताउनुभयो ।

नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उहाँले जानकारी दिनुभयो । नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् ।

ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताउनुभयो । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताउनुभयो ।