८ बैशाख २०८१, शनिबार

कोरोनाबाट आमा गुमाएका शिशुलाई कांग्रेस नेता बस्नेतले लिए भरणपोषण र उच्च शिक्षाको जिम्मा

Mohan basnet

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाकी नवजात शिशुका लागि पौष्टिक आहारको जिम्मा लिएका छन् ।

उनले क्वारेन्टाइनमा रहेका नवजात शिशुका बुबालाई सोमबार फोन गरेर पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने वचन दिएका हुन् ।

आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।

बच्चाको बुबा धुलिखेल अस्पतालबाट फर्कने बितिकै सो रकम हस्तान्तरण गरिने उनले जानकारी दिए ।

नेता बस्नेतले ती शिशुलाई कक्षा १२ सम्म अध्ययनका लागि सम्पूर्ण जिम्मा आफूले लिने पनि घोषणा गरेका छन् । उनले शिशुका बुबासँग कक्षा १२ उत्तीर्ण भइसकेपछि जागिरको व्यवस्थासमेत गर्ने वचन दिएका छन् ।

“मैले आज बिहान महिलाका श्रीमानलाई फोन गरेर शिशुको पौष्टिक आहारका लागि क्वारेन्टाइनबाट बाहिर आउनेबित्तिकै ५० हजार रुपैयाँ दिने भनेको छु,” नेता बस्नेतले भने, “ती शिशुलाई कक्षा १२ सम्मको पढाइका लागि चाहिने सम्पूर्ण खर्च पनि मैले व्यहोर्छु भनेर वचन दिएको छु । १२ पास गरेपछि उनलाई मैले नै जागिरको पनि व्यवस्था गरिदिन्छु ।”

१२ पछि थप उच्च शिक्षा अध्ययनका लागि पनि आफूले पहल गर्ने र बच्चाको लागि रोजगारीको व्यवस्था गर्ने उनले बताए । 

बाह्रबिसे नगरपालिका-९ राम्चेकी एक महिलाको कोरोना भाइरस संक्रमण कारण जेठ १ गते मृत्यु भएको थियो । उनी ९ दिनकी सुत्केरी थिइन् । 

गत वैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा उनले छोरालाई जन्म दिएकी थिइन् । उनको छोरा धुलिखेल अस्पतालमा छन् ।

उनको स्वास्थ्य अवस्था राम्रो रहेका चिकित्सकहरुले बताएका छन् । ती महिला पूर्वमन्त्री बस्नेतको छिमेकी गाउँकी थिइन् ।